पृथ्वीनारायण शाहको जन्मजयन्ती आज, विविध कार्यक्रम आयोजना गरी मनाइँदै
रे समाचार/काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा बन्नुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो । उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास राप्रपातको छ । विगतमा यस दिनमा बिदा दिने गरिए पनि दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गरेको थियो ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालिन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गर्नुभएको छ ।