एनआरएन अमेरीकामा डा. पौडेल नै किन ? – राम कुमार सुबेदी
धेरै बर्ष अघि म सानो छँदा गाऊँमा एक छिमेकी दिदी सुत्केरी हुने अबस्था थियो, सुँडेनी त थिइन् तर तालिम प्राप्त हैन, सिपालु पनि थिइनन्।असल प्रयास गरिन्, पेट मुसारिन्, अरू उपाय गरिन् अहँ केही लागेन। भित्रको बच्चा र आमालाई झन् खतरा देखियो।
गाऊँका मुखिया र अगुवाले शनिश्चरे शङ्कर डाक्टरकोमा लाने सल्लाह दिए। त्यसबेला नत सडक नत सवारी, बोकेरै लगे गाउँलेले। अहोभाग्य शङ्कर डाक्टरले बच्चाको जीवित जन्म गराई दिए र आमालाई पनि बचाए। मलाई अझै ताजा छ, सिङ्गो गाऊँले शङ्कर डाक्टरलाई भगवान मान्थे। पछि उनी राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट सांसद भए, सांसद डाक्टर शङ्कर उप्रेती। सिंहदरवारमा संसदमा रहँदा पनि सदा झापाका गाऊँका ती बिरामीको चिन्ता गर्थे र शुक्रवार भयो, झापा तिर लागि हाल्थे, सप्ताहान्तमा जनताको सेवा गर्न। अहिले म अमेरिका प्रवासमा छु, यहाँ धेरै सक्षम र सहयोगी नेपाली डाक्टरहरू छन्, नेपाली समाजको हितमा, सुख दुखमा र उपचारमा साथ र सहयोग दिई रहेका छन्। यस्तै डाक्टरमा मैले चिनेको डाक्टर छन्, डाक्टर केशब पौडेल।
उनी अमेरिकाको एन आर एनको वर्तमान अध्यक्ष पनि हुन्। नेपालमा भूकम्प गयो, कतिले ज्यान गुमाए, कति घाईते भए, कति उपचारको अभावमा ज्यान गुमाउने अवस्थामा पुगे, डाक्टरको मन भक्कानियो, आँखामा आँशु थामिएन। एन आर एन को आकस्मिक बैठक बसाए, घरमा श्रीमतीलाई थाहा नदिई नेपालको टिकेट लिए, एन आर एन को आफ्नो सहयोगी टीम लिएर लागे नेपाल तत्कालै। ८/१० बक्सा औषधि, अलिकति पैसा जोरजाम पारेर लागे नेपाल। नेपालमा खाने, बस्ने, सुत्ने केही ठेगान छैन, समय छैन एन आर एन को टीम अहोरात्र खट्यो डाक्टर पौडेलको नेतृत्वमा। कुन गाऊँ हो, कुन थर हो, कुन दल हो, कस्तो रंग थियो, कस्तो धर्म मान्थे हेरेन डाक्टरको टीमले। पट्टी बाँध्यो, मल्हम लगायो, औषधि दियो, पसिनासरी, पेटमा पटुकी बाँधेर। रबिनाजीले रेस्टुरा बिर्सिन् अनि डाक्टरले आफ्नो सानो बच्चा, अरूले आफ्नो बन्दब्यापार। स्थेस्कोपी आवश्यक पर्यो डाक्टरले बोके, औषधि चाहियो, सबैले भरिया बनेर लगे।ब्यान्डेज काम लाग्यो, विन्डोज हैन।
एन आर एन मा लागेर डाक्टरले यो दुई बर्षको १०४ हप्तामा बिरलै सप्ताहान्त समय घरलाई दिए होलान्, परिवारलाई दिए होलान्। सासुको स्वर्गवास हुँदा समवेदना दिन, शोकमा साथै रहने समय पनि उनलाई भएन, सँस्था र समाजको हितमा लाग्दा। सँस्थाको गतिविधिमा सहभागिता जनाउँदा उनले धेरै पटक एयरपोर्टमै महँगो मूल्यमा टिकेट लिएका छन्। कुनै राज्यको काम सकिएर घर न्यू मेक्सिको लाग्दै गर्दा बीचैमा घरतिर नलागी अर्कै राज्यको निम्तो आएर अर्कैतिर लागेको कयौं उदाहरण छन्।
अस्ति भर्खरै नेपालमा सासुको बर्खान्त सकेर आए, आफ्ना बुवालाई साथै ल्याए। जहाजको जेट ल्याक वा अन्य कारणले बिरामी भए, केशब पौडेल स्वयम् डाक्टर, बाऊलाई हेर्ने समयसम्म मिलेन र न्यूयोर्कको ”कसीमा कन्सुलेट” कार्यक्रममा आए। एन आर एन मा उनले चाहे जस्तो, हामीले खोजे जस्तो काम धेरै भएनन् होला, म मान्छु। तर त्यसको कारण र कारक पनि खोजिनु पर्छ। सँस्थामा नै बसेर नेतृत्वलाई काम गर्न बाधा पारिएको कुरा पनि बाहिर नआएको हैन। भूकम्पले थिलथिल भएको मातृभूमिमा समय दिएको कारण पनि प्रवासमा नेपाली समाजको हितमा कम समय दिन सकेका हुन् भनेर हामीलाई ज्ञात भएको हो। झन्झट, झमेला, मुद्धा र मामिलाको त यहाँ बयान नै नगरौं। कालो झोला बोकेर कालो कोट लगाउनेका अघि टेनेसी कोर्टमा अरू कोही उभिएनन, फगत डाक्टर केशब पौडेल बाहेक।
३२९ जनाबाट सदस्य संख्याबाट शुरु भएको यो सँस्था अहिले सत्र हजार चानचुन सदस्य सङ्ख्या पुगेको छ। उनले सम्हाल्दा पन्ध्रवटा राज्यमा च्याप्टर थिए अहिले उनको यो कार्यकालको अन्तिम समयमा २६ वटा च्याप्टर निर्माण हुँदै छन्। स्वदेशमा सम्झन लायक कति काम भएका छन् यहाँ पनि टी पी एस का लागि उनले सकारात्मक सहयोग र सहभागिता जनाएका थिए, फलत: नेपालीहरूले त्यो सुबिधा पाए पनि। नेपालमा नाकाबन्दीले जन्मभूमि जर्जर भएको बेलामा यू एन अगाडि र डी सी अगाडि एन आर एन उनको नेतृत्वमा बिरोध प्रदर्शनमा उत्रिएको थियो, बिरोध-पत्र र विज्ञप्ति दिएको थियो। यहाँ सुख दुखमा साथ, आपतविपत र आहतमा राहत डाक्टरको नेतृत्वले सकेसम्म असल प्रयास र सहयोग पनि गरेको थियो।
दोहोरो कर हटाउने र दोहोरो नागरिकता सम्बन्धि हामी प्रवासीको लागि दीगो सुबिधा र सहुलियत प्राप्त हुने कुरामा डाक्टर र उनको वर्तमान टीमले अहम भूमिका खेलेको थियो र अझै प्राप्तिको लागि प्रयत्नशील छ l डाक्टर देव हैनन्, मानब नै हुन् र मानवीय त्रुटी हुनसक्छ, भए होलान्, चाहे जति, खोजे जति भएनन् होला, काम गर्दा कमी कमजोरी भए होलान्।
गति ढीलो भयो होला तर मति बिगारेका छैनन् डाक्टरले, गल्ती गरेका छैनन्। बिबिध कारणले उनले चाहेको र प्रवासीले खोजेको कामहरू अधूरा रहेका अबश्य छन् त्यसलाई पूरा गर्न अर्को कार्यकालको नेतृत्व माग्नु उनले गल्ती गरेका छैन।एक पटक फेरि अध्यक्षको नेतृत्व लिएर प्रवासीको हितमा, मातृभूमिको कल्याणमा र प्रवासी समाजको सौहार्दता र एकतालाई अझ मजबूत बनाउने मनसायमा मैले दुराशय देखेको छैन।
फेरि अध्यक्षको उम्मेदवार दिने कुरामा मैले खोट देखेको छैन, बरू उहाँलाई अन्य ऊर्जाशील आकांक्षीहरूले पून अवसर दिएर आगामी कार्यकालमा नेतृत्व सम्हाल्न समसामयिक र सान्दर्भिक हुने देख्दछु। जय एन आर एन