१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ
माघ २ – अमेरिकाको क्यालिफोर्नियामा आफ्ना १३ सन्तानलाई बन्धक बनाएर राख्ने आमा बुवालाई प्रहरीले पक्रेको छ ।
दुईदेखि २९ वर्षसम्मका १३ सन्तानलाई बन्धक बनाउने ५७ वर्षका डेविड एलेन तुर्पिन र ४९ वर्षकी लुइस एना तुर्पिनलाई प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
बन्धक बनाइएका मध्ये केहीलाई उनीहरुले बिस्तारामा चेन तथा तालाले बाँधेर राखेका थिए । लस एन्जलसबाट ५९ माइल उत्तर पूर्वमा रहेको पैरिसको एक घरबाट १३ जनालाई उद्धार गरिएको छ ।
आइतबार १७ वर्षकी किशोरीले घरबाट भाग्न सफल भएकी थिइन् । उनले प्रहरीलाई फोन गरेर आफ्ना १२ दाइ दिदी तथा भाइ बहिनीलाई घरमा बन्धक बनाएर राखिएको बताएकी थिइन् ।
त्यसपछि प्रहरी तथा सरकारी अधिकारी गएर बन्धक बनाइएकाको उद्धार तथा उनीहरुलाई बन्धक बनाउने दुईजनालाई पक्राउ गरिएको हो । उद्धार गरिएका १३ जना कुपोषी र सरसफाइमा कमजोरी देखिएको सरकारी अधिकारीले बताएका छन् । पक्राउ परेका बुवाआमाले किन छोराछोरीलाई बन्धक बनाएका हुन भन्ने जानकारी अहिलेसम्म आएको छैन् ।