घुससहित धादिङबाट पक्राउ परे खानेपानी संस्थान बुटवलका प्रमुख
रुपन्देही, २६ साउन । नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धादिङ्गबाट घुससहित पक्राउ गरेको छ ।
इन्जिनियर साहलाई अख्तिायार आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गर्दा आइतबार धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट पक्राउ गरेको हो । टोलीले विशेष खबरका आधारमा साहको गाडी रोकेर चेक गर्ने क्रममा पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साहका साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको हो ।
त्यस्तै पक्राउ परेका साहले खानेपानी शाखा कार्यालयका विभिन्न व्यक्तिसँग घुस रकम लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो । अख्तिायारले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।