बार्सिलोनाको शानदार जित, मेस्सीको ‘रेकर्ड’
काठमाडौं, । स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल मल्लोर्काविरुद्ध ४–० गोलान्तरको जित निकालेको हो ।
मल्लोर्काको मैदानमा भएको सो खेलमा बार्सिलोनालाई जिताउन अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट, जोर्डी अल्बा र लियोनल मेस्सीले समान एक–एक गोल गरे ।
बार्सिलोनाले पहिलो हाफमा २ तथा दोस्रो हाफमा २ गोल गरेको थियो । यता, एक गोल गरेका मेस्सीले ला लिगामा रेकर्ड बनाएका छन् ।
दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई ४–० गोलको शानदार जित दिलाउँदा मेस्सीले जारी सिजनको ला लिगामा २०औं गोल गरेका थिए ।
यससँगै मेस्सी पछिल्ला १२ सिजन लगातार २० भन्दा धेरै गोल गर्ने खेलाडी बने । मेस्सीले सन् २००८–०९ को सिजनयता २० भन्दा धेरै गोल गरेका छन् ।
यस जितसँगै शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा पाँच अंकको अग्रता बनाएको छ । बार्सासँग ६१ अंक छ भने एक खेल कम खेलेको रियलसँग ५६ अंक छ ।