कालीकोटको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटियो
कालीकोट, ३० साउन । कालीकोटको महाबै गाउँपालिका ३ नकुमा पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्र बाँस्तोलाका अनुसार बिहीबार राति वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्टका १३ वर्षका छोरा पुष्प विष्ट, ११ वर्षका प्रविन विष्ट, छोरी १८ वर्षकी सविना विष्ट, १५ वर्षकी आशा विष्ट र डिलबहादुर विष्टका १९ वर्षकी छोरी शान्ति विष्ट र १० वर्षकी रेखा विष्टको ज्यान गएको हो ।
स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सहयोगबाट शव निकालेका हुन् । त्यहाँका स्थानिय खेमबहादुर सिंहका अनुसार पहिरोको जोखिममा पूरै गाउँ परेको छ ।
त्यस्तै पहिरोले घरको तल्लो तलामा रहेका बालबालिकालाई पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।