बनियाटाँर हत्याका मुख्य आरोपी प्रहरीको नियन्त्रणमा
काठमाडौं, ३१ साउन । काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्त सहित अरु ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार छुरा प्रहार गरी हत्या गर्ने आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिइएको हो ।
शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीच विवादका क्रममा तामाङमाथि छुरा प्रहार भएको थियो र घाइते उनको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो ।
महानगरीय अपराध महाशाखाका अनुसार तामाङ गोंगबु सुकुम्वासी टोलमा बस्दै आएका थिए भने शनिबार नै सो सुकुम्वासी टोलबाट मुख्य अभियुक्त शेर्पालाई पक्राउ गरिएको हो ।
उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।