भारतमा कोरोनाको तीन खोप परीक्षणको चरणमा, वैज्ञानिकहरुद्वारा सकारात्मक संकेत : मोदी
एजेन्सी, ३१ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरसविरुद्घ तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । ती खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि उनले बताएका छन् ।
भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उनले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको जानकारी दिदैँ प्रतिरक्षात्मक सामग्रीहरुको उत्पादनमा पनि व्यापक बृद्धि भइरहेको बताएका छन् ।
उनका अनुसार खोप उत्पादनका लागि बैज्ञानिकहरु कडा मेहनत गरिरहेका छन् । प्रधानमन्त्री मोदीका अनुसार भारतमा कोरोनाको महामारी शुरुवातमा एउटा मात्र प्रयोगशाला थियो भने अहिले त्यो संख्या बढेर १४ सयभन्दा बढी प्रयोगशाला बनिसकेको छ ।
कोरोनाविरुद्धको खोप तथा उपचारका लागि १०३ करोड भारतीय रुपैया कोषमा राखिएको पनि उनले बताएका छन् ।
उनले कोरोनाविरुद्धका खोप उत्पादन सम्वन्धी महत्वकांक्षी सपना चाडै नै व्यवहारमा देख्न सकिने विश्वास व्यक्त गर्दै केही महिनामा ठूलो मात्रामा एन ९५ मास्क, पिपिई भेन्टिलेटरलगायतका सामग्रीहरु भारतले विश्व बजारमा निर्यात गर्ने दाबी समेत गरेका छन् ।