पछिल्लो २४ घण्टाको अवधिमा थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०२ पुग्यो (विवरणसहित)
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पर्सा, धनुषा र कपिलवस्तुमा एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु मायादेवीका ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज साउन ३१ गते मृत्यु भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण साउन ३० गते साँझ पर्साको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा मृत्यु भएको हो ।
त्यस्तै धनुषाका एक ५० बर्षीय पुरुषको कोरोना संक्रमणका कारण साउन २९ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि गरिएको परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
योसंगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।