सन्तोषमाथी खुकुरी प्रहार गर्ने मल्ल पक्राउ
काठमाडौं– युवा संघका केन्द्रिय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरेको अभियोगमा बाजुराका लक्ष्मण मल्ल पक्राउ परेका छन् ।
शुक्रवार साँझ प्रहरीले मल्ललाई राजधानीको बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।
गत पुस १४ गते कोहलपुर स्नुकर हाउसमा पुल खेलेर घर फर्कन लागेका बेला बुढाथोकी माथि खुकुरी प्रहार भएको थियो । उनको भारतको लखनउमा उपचार भैरहेको छ । त्यसपछि आरोपी मल्ल फरार भएका थिए ।
मल्ललाई बालाजुको एक गेष्ट हाउसबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । प्रहरी स्रोतका अनुसार, कल ट्रयापका आधारमा एकसातादेखि मल्लको पिछा गरिरहेको डिएसपी कमाण्डको उक्त टोलीले मल्ललाई झोलामा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको हो । उनलाई हाल महानगरीय प्रहरी वृत बालाजुमा राखिएको छ ।
आफ्नो संगठनको केन्द्रिय सदस्यमाथि खुकुरी प्रहार भएको विरोधमा युवा संघका कार्यकर्ताले गत शुक्रवार काठमाडौंको नयाँ बानेश्वरमा सरकारी स्वामित्वको गाडीमा आगजनी गरेका थिए ।