इलामको क्वारेन्टाइनमा बस्दै आएका २२ वर्षीय युवकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी
इलाम, १ भदौ । इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
नगरपालिकाका अनुसार सूर्योदय नगरपालिका–९ घर भएका २२ वर्षीय युवकको क्वारेन्टाइनमा आइतबार राती मृत्यु भएको हो । उनी भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखि नै क्वारेन्टाइनमा बस्दै आएका थिए ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहान १० बजे देखि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरिरहेको थियो ।
त्यस्तै सो घटनाको विषयमा अनुसन्धान भइरहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिएका छन् । मृतकको पीसीआर रिपोर्ट सोमबार दिउँसोसम्म आइपुग्ने राईले बताएका छन् भने साउन २९ गते नै उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पतालमा परीक्षणको लागि पठाइएको हो ।