बारामा दुई गाउँबीचको झडप रोक्न १३ राउण्ड हवाई फायर, ४ प्रहरी घाइते
वीरगञ्ज, १ भदौ । बारामा दुई पक्षबीच झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।
बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो ।
सो झडपमा परी चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् भने घाइतेको अवस्था सामान्य रहेको छ ।
कुलोमा माछा मारेको र डुबानको विषयलाई लिएर भएको विवादले उग्र रुप लिँदा झडपको रुप लिएको डीएसपी मिश्रले बताएका छन् ।
दुई गाउँबीच नै आक्रमण र प्रतिकार शुरु भएर घरटहरा समेत भत्काउन थालेपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि जिल्लाबाट थप टोली गएको थियो । तर ६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप रोकिएन, १३ राउण्ड हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको डिएसपी मिश्रको भनाइ छ ।
उनका अनुसार स्थिति सामान्य भएपछि प्रहरी टोली फर्किएको छ ।