कोरोना संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु
तनहुँ, २ भदौ । पोखरामा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दू शर्माका अनुसार तनहुँ ब्यास नगरपालिका–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक महिलाको शव कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अहिले सिसिएमसीको बैठक बसिरहेको र छलफल भइरहेको डा. शर्माले जानकारी दिएका छन् ।
त्यस्तै मृतककी छोरीमा पनि संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जनाकारी दिएका छन् ।
गत साउन २१ गते उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो भने सुगर, प्रेशर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डाक्टर पदम खड्काले जानकारी दिएका छन् । खड्काका अनुसार ती महिलाको सोमबार राति मृत्यु भएको र आज विहान कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।