पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरीको मृत्यु, अर्को गम्भीर घाइते
पोखरा, ३ भदौ । पोखरामा गएराति सवारी दुर्घटना हुदाँ एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नं को बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो भने मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार अर्का घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।