माछापोखरीबाट दुई थान पेस्तोल र १० राउण्ड गोली बरामद, दुई जना प्रहरी नियन्त्रणमा
काठमाडौ, ४ भदौ । प्रहरीले काठमाण्डौ महानगरपालिका १६ माछापोखरीबाट दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
बुधबार काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट नुवाकोट शिखरबेंसी ६ बस्ने वर्ष २७ को विकास पण्डित र लिपु गाउँपालिका १ बस्ने वर्ष २८ को अमर तामाङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार पण्डितबाट प्रहरीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल र १० राउण्ड गोली बरामद गरेको छ भने उनलाई सोधपुछ गर्दा हतियार ओसार पसार गराउन लगाउने तामाङ रहेको खुलेको हो ।
तामाङलाई महाशाखाको टोलीले नुवाकोटस्थित घरबाट पक्राउ गरेर उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, टेकु लगिएको छ ।
त्यस्तै प्रारम्भिक अनुसन्धामा अमर तामाङ पहिले नै डाँकाको मुद्दामा ६ वर्ष २ महिना कैद सजाय भुक्तान गरेको खुलेको छ भने उनी गत फागुन १२ गतेमात्रै थुनामुक्त भएका थिए ।
यसैगरी सो घटनामा संलग्न अन्यको खोजी प्रहरीले गरिरहेको छ ।