एक जना सङ्क्रमित पत्ता लगाउन एक लाख चार हजारभन्दा धेरै खर्च गर्नु परेको छ : स्वास्थ्य मन्त्रालय
काठमाण्डौ, ५ भदौ । नेपाल सरकारले एक जना कोरोना सङ्क्रमित पत्ता लगाउन एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको बताएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा अहिलेसम्म पाँच लाख ७९ हजार आठ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय रुपैयाँ खर्च भइसकेको छ ।
ती परीक्षण गरिएका मध्ये ३० हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यस हिसाबबाट एक जना सङ्क्रमित पत्ता लगाउन सरकारको एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
एक हजार जनाको पीसीआर परीक्षण गर्नको लागि पीपीई सेट बाहेक प्रयोगशालामा मात्रै पाँच हजार पाँच सय रुपैयाँ खर्च हुने गरेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता गौतमले दिएको जानकारी अनुसार आईसीयूमा राखेर उपचार गराउदा झन बढी खर्च हुने र एक जना मानिसलाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च हुने गर्दछ ।
यसैगरी कोरोना भाइरसको परीक्षण र उपचार दुवै ज्यादै महँगो हुने भएकोले सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण हुनै नदिन नागरिकसंग मन्त्रालयले आग्रह गरेको छ ।