इरानमाथि पुनः प्रतिबन्ध लगाउन अमेरिकालाई सुरक्षा परिषदका १५ मध्ये १३ राष्ट्रले साथ नदिने
एजेन्सी, ६ भदौ । अमेरिकाले इरानमाथि पुनः प्रतिबन्ध लगाउने विषयमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका १५ सदस्य राष्ट्रमध्ये १३ सदस्य राष्ट्रले असहमति जनाउँदै पछि हटेका छन् ।
२४ घण्टामा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले संयुक्त राष्ट्र संघीय प्रतिबन्ध फिर्त गर्न ३० दिनको समय काउन्टडाउन गरेका छन् ।
अमेरिकाका अनुसार राष्ट्र संघको प्रावधानअनुसार पुनः प्रतिबन्ध लगाउने अधिकार आफूसंग रहेको छ । यसैगरी इरानमाथि प्रतिबन्ध लगाउन अमेरिकाले राष्ट्र संघलाई औपचारिक आग्रह गरेको पनि थियो ।
बेलायत, फ्रान्स, जर्मनी र बेल्जियमका साथै चीन, रुस, भियतनाम, नाइजर, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, दक्षिण अफ्रिका, इन्डोनेसिया, इस्टोनिया र ट्युनिसियाले असहमति जनाउदै विपक्षमा पत्र काटिसकेका छन् ।
अमेरिकाले इरानलाई सन् २०१५ को सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ, अमेरिकाले तेहरानलाई आणविक हतियार विकास गर्न रोक्न खोजेको थियो। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अहिलेसम्मको खराब सम्झौता भन्दै सन् २०१८ मा यसबाट अलग भएका थिए।
पोम्पिओले इरानमाथि प्रतिबन्ध लगाउन अस्वीकार नगर्न रुस र चीनलाई शुक्रबार पुनः चेतावनी दिएका छन् भने कुटनीतिज्ञहरुले रुस, चीन र अन्य देशहरुले पुनः प्रतिबन्ध लगाउने विषयमा समर्थन गर्न असम्भव रहेको बताएका छन् ।
त्यस्तै अमेरिकाले इरानमाथि हतियारसम्बन्धी प्रतिबन्ध लगाउने बोलपत्र सुरक्षा परिषदले गत साता खारेज गरेपछि बिहीबार अमेरिकाले चेतावनी दिएको हो ।