पूर्वी तराईमा हतियार र लागूऔषध कारोबार गर्ने मस्ट वान्टेड बग्गा प्रहरीको नियन्त्रणमा
विराटनगर, ७ भदौ । नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके बग्गा भनिने प्रदीप यादवलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
भारतको अररियाबाट लागूऔषध र हतियार कारोबार गर्ने बग्गा प्रहरीको मस्ट वाण्टेड सूचीमा थिए ।
मोरङका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शनिबार दिउँसो साढे ४ बजे घर मिलाउन विराटनगर आएका बग्गालाई प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भारत बिहारको इन्द्रनगर ग्राम पञ्चायत– १० बस्ने ३९ वर्षका बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धार मोरङमा विचाराधीन छ ।
पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबार बग्गाको हात रहेको छ भने बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने मोरङका प्रहरी कार्यालयले जनाएको छ ।