सोमबार बस्ने भनिएको ओली–प्रचण्ड भेटवार्ता रोकियो
काठमाडौ, ८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज हुने भनेको भेटवार्ता स्थगित भएको छ ।
अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले दिएका जानकारीका अनुसार दुई नेताबीच कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न ११ बजे समय तय भएतापनि आज हुने भनेको भेटवार्ता मंगलबारलाई सारिएको छ।
नेकपाको आन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो भने सो प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यान्वयनबारे छलफल हुन लागेको हो ।