विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन त्रिविको आग्रह
काठमाण्डौ, १० भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई अनलाइन पठनपाठनमा सहभागी हुन आग्रह गरेको छ । कोरोना भाइरसका कारण कक्षा कोठा पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आफू अध्ययनरत क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन त्रिविले आग्रह गरेको हो ।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सा विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउन अनुरोध गरेका छन् ।
त्रिविले आफ्ना सम्पूर्ण विभाग, स्कूल, क्याम्पस प्रशासन, डीन कार्यालय समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकता साथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउनु समेत अनुरोध गरेको छ ।
त्रिविले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नेपालमा पनि प्रवेश गरेसँगै यसले जनस्वास्थ्यमा पार्ने असरलाई मध्यनजर राखी गत चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगन गरेको थियो ।