रौतहटमा हत्या आरोपमा पक्राउ परेका युवकको मृत्यु
रौतहट, ११ भदौ । रौटहटमा हत्या आरोपमा पक्राउ परेका एक युवकको मृत्यु भएको छ ।
गरूडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय गरूडाले पक्राउ गरेका सात अभियुक्तमध्ये विजय महराको मृत्यु भएको हो ।
उनको दुबै मिर्गौलामा समस्या आएपछि बुधबार मध्य राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौटहटले जानकारी दिएको छ ।
प्रहरी कार्यालय रौतहटका अनुसार हत्यामा उनको पनि संलग्नता देखिएपछि पक्राउ परेका थिए र पछि उनको स्वास्थ्य अवस्था बिग्रियो, त्यसपछि उनलाई वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।
महराको मिर्गौलाले काम गर्न छोडेपछि दुई पटक डायलासिस समेत गरिएको र विजयमा पहिलादेखि नै मिर्गौलाको समस्या भए नभएको बारेमा यकिन नभएको प्रहरीले जनाएको छ ।
तर उनकै परिवारका एक सदस्यको पनि त्यसैगरी मिर्गौला फेल भएर मृत्यु भएको भन्ने र पहिले देखि नै उनको मिर्गौलामा समस्या आएको हुनुपर्ने प्रहरीले बताएको छ ।