बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु
बुटवल, ११ भदौ । बुटवलमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिएका छन् ।
गत साउन २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखी उपचार जारी थियो । तर घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि साउन ३१ गते थप उपचारका लागि उनलाई धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको र ४ दिन अघिदेखि भेन्टिलेटरमा राखेर उनको उपचार जारी थियो ।
प्लाज्मा दिएर बुधवारसम्म उनको स्वास्थ्यमा सुधार भइरहेको थियो भने रातिदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । यसैगरी उनलाई बिहीवार पनि थप प्लाज्मा दिने तयारी पनि गरिएको थियो ।
त्यस्तै मृतकमा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।