श्रोत नखुलेको २८ लाख रुपैयाँ सहित एक युवक पक्राउ
रौतहट, ११ भदौ । रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल ११ नम्बर गणका अनुसार नेपाल भारत सिमानाबाट इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर३०एन९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा इशनाथ ९ का २० वर्षीय दिलीपकुमार साहको साथबाट सो रकम बरामद भएको हो ।
मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउँदै गर्दा बरामद भएको उक्त श्रोत नखुलेको रकमको बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले बताएको छ ।
पछिल्लो समय रौतहटको पश्चिमी नाका हुँदै नेपालतर्फ ल्याइएको श्रोत नखुलेका लाखौं रकम पटक पटक प्रहरीले बरामद गरेको छ ।