विदेशमा अप्ठेरोमा परेकालाई विना भेदभाव उद्धार गर्न एनआरएनएको आग्रह
काठमाण्डौ, ११ भदौ । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।
बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताएका छन् ।
प्रवक्ता क्षेत्रीका अनुसार राज्यले श्रम गरेर आएका र नआएका नभनेर नेपाल फर्काउनुपर्र्ने, इलिगल (अवैधानिक रुपमा बसोबास गरेका) हरुलाई सरकारले उद्धार र राहतमा नपारेको र जे भए पनि ती नेपाली हुन् ।
विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार गर्न आर्थिक हिसाब किताब गर्न नहुने प्रवक्ता क्षेत्रीले बताएका छन्। नेपाली फर्काउँदा १ अर्ब पनि खर्च नहुने र यो सरकारले गर्नुपर्ने उनको भनाइ छ । राज्यलाई रेमिटेयान्स दिलाएर देश धान्नेहरु सीमामा गएर लड्ने भन्दा कम नहुने उनले भनेका छन् ।
क्षेत्रीका अनुसार विदेशमा घरेलु कामदारका रुपमा रहेका महिलाहरु समस्यामा रहेकोले पहिलो प्राथमकिता उनीहरुलाई दिनुपर्नेछ । सबै महिलाहरु कन्ट्रयाकमा आउन सक्ने अवस्था नभएको र घरमा संक्रमित हुँदा कामदारहरु पनि संक्रमित भएको हुनसक्ने उनले बताएका छन् ।
नेपाल फर्किएपछि पनि उनीहरुलाई मनोपरामर्श दिनुपर्ने र विदेशबाट फर्किएका सबैले कोरोना लिएर आएको जस्तो गरी दुव्र्यवहार गर्न नहुने पनि उनले बताएका छन्।