भारतमा अड्किएको २५ सय टन युरिया मल नेपाल भित्रियो
काठमाण्डौ, ११ भदौ । लकडाउनका कारण भारतको कलकत्तामा अड्किएको नेपाल साल्ट ट्रेडिङ कर्पोरशनका २५ सय टन युरिया मल वीरगञ्ज आइपुगेको छ ।
गत वर्षको थप कोटा २१ हजार ५ सय टन चालु आर्थिक वर्षको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय टन युरिया मल ३ महिनादेखि कलकत्तामा अड्किएको थियो । लकडाउन खुकुलो भएसँगै नेपाल भित्रिन सुरू भएको युरिया मल ३ हप्तामा कलकत्ताबाट नेपाल आइसक्ने नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता कुमार राजमण्डारीले बताएका छन् ।
प्रवक्ता राजभण्डारीका अनुसार कृषि मन्त्रालयको समन्वयमा कुन–कुन जिल्लामा मल पठाउने भनेर तालिका बनिसकेकोले आज (बिहिबार) देखि किसानलाई वितरण गरिनेछ । पहिलो चरणमा मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुरलगायतका १० जिल्लामा मल वितरण गरिने उनले बताएका छन् ।
६ सय टन विराटनगरमा आइपुगेको भने १३ सय टन मल वीरगञ्जबाट विराटनगरका लागि हिँडिसकेको छ ।
यसैगरी लकडाउनमा ३ महिना अड्किएको ५० हजार टन मलमध्ये ६ हजार टन काम नलाग्ने भएकाले ४४ टन मात्रै नेपाल ल्याइएको कर्पोरेशनले जनाएको छ ।