धरानमा उपचाररत सिरहाका कोरोना संक्रमितको मृत्यु
जनकपुरधाम, १२ भदौ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते धरान पुगेका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट भदौ ८ गते पोजेटिभ आएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार रिपोर्ट आएको तीन दिनपछि उनको बिहीबार राति ७ बजेतिर धरानमै उपचारको क्रममा मृत्यु हो । स्वास्थ्य अवस्था गम्भीर भएका ती पुरुषलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको उनको भनाइ छ ।