विद्यालयभित्र तास खेलिरहेको अवस्थामा प्रधानाध्यापकसहित ११ जना पक्राउ
चितवन, १२ भदौ । चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै खैरहनी नगरपालिका वडा नं २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई पक्राउ गरेको र उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ भने उनीहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।