भारतमा पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै अत्यधिक करिब ७९ हजार कोरोना सङ्क्रमित
एजेन्सी, १४ भदौ । भारतमा केहिदिनयता कोरोना संक्रमितको संख्या ह्वातै बढ्दै जान थालेको छ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका ७८ हजार ७६१ जना सङ्क्रमित थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै भारतमा कुल सङ्क्रमितहरुको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका कारण ९४८ जनाको ज्यान गएको छ । योसंगै हालसम्म कुल मृत्यु हुनेको संख्या ६३ हजार ४९८ पुगेको छ।
भारतमा हाल सक्रिय सङ्क्रमितको संख्या ७ लाख ६५ हजार ३०२ रहेको छ भने कूल सङ्क्रमित मध्ये २७ लाख १३ हजार ९३४ जना भने सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ।
अधिकारीहरुले दिएको जानकारी अनुसार महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४६७ जना सङ्क्रमित छन्। त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन्।