एक नयाँ आधुनिक समाजवादी तिब्बतको निर्माणमा कोसिस गर्नुपर्छ : सी जिङ्गपिङ
एजेन्सी, १४ भदौ । भारतसँग सीमा विवाद चलिरहेकै बेला चीनका राष्ट्रपति सी जिङ्गपिङले एक नयाँ आधुनिक समाजवादी तिब्बतको निर्माणमा कोसिस गर्नुपर्ने आह्वान गरेका छन्।
यसअघि चीनका विदेशमन्त्री वांग यीले तिब्बतको भ्रमण गरेका थिए र भारतसँग जोडिएको सीमामा निर्माण कार्यको अवलोकन पनि गरेका थिए।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनको सेन्ट्रल मिलिटरी कमिशनका अध्यक्ष सी जिङ्गपिङले बेइजिङमा तिब्बतको विषयमा भएको एक उच्च स्तरीय बैठकमा यो टिप्पणी गरेका हुन्।
सन् १९५० मा तिब्बतमाथि आफ्नो नियन्त्रण स्थापित गरेका चीनले तीब्बतमा स्थिरता स्थायित्वका लागि र राष्ट्रिय एकताको रक्षाका निमित्त थप कोसिस गर्नुपर्ने आवश्यकता भएको उनले बताएका छन्।
निर्वासित आध्यात्मिक नेता दलाई लामालाई समर्थन गर्ने आलोचकका अनुसार चीनले तिब्बतका मानिसहरु र त्यहाँको संस्कृतिलाई खराब पारेको आरोप लगाउने गर्छन्।
तिब्बतको भविष्यको शासनमाथि कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्यको यो बैठकमा सी जिङ्गपिङले उपलब्धिको प्रशंसा गरे र फ्रन्टलाइनमा काम गरिरहेका अधिकारीको पनि तारिफ गरे तर उनले यो क्षेत्रमा एकता बढाउन, त्यसलाई पुनः जीवन्त राख्न र बलियो बनाउनका लागि थप प्रयासको आवश्यकता भएको बताएका छन्।
सरकारी समाचार एजेन्सी शिन्ह्वाका अनुसार सी जिङ्गपिङले बैठकमा तिब्बतका स्कूलमा राजनीतिक र वैचारिक शिक्षामा थप जोड दिन आवश्यक भएको बताएका छन् । यसो गरे त्यहाँका हरेक युवाको मनमा चीनका लागि प्रेमको बिउ छर्न सकिने जिनपिङको ठहर छ।
सी जिङ्गपिङले तिब्बतमा कम्युनिष्ट पार्टीको भूमिकालाई थप बलियो बनाउन र जातीय समूहलाई उत्कृष्ट तरिकाले एकीकृत गर्न आवश्कता भएको बताएका छन्।
यसै सन्दर्भमा सबैले एकजुट, समृद्ध, सभ्य, सुन्दर, आधुनिक, समाजवादी तिब्बत बनाउने संकल्प लिनुपर्ने उनको भनाइ रहेको छ।
तिब्बती बौद्ध धर्मलाई पनि समाजवाद र चिनियाँ परिस्थितीको अनुकूल बनाउन आवश्यक थियो भनी सी जिङ्गपिङले बताएका छन्।