कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२८ पुग्यो
काठमाण्डौ, १५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा बालिका र महिला गरी ३ तथा ४ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन्।
त्यस्तै झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय वृद्ध र भक्तपुरका ७७ वर्षीय वृद्धको मृत्यु भएको हो।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।