रौतहट पुजारी हत्याकाण्डका आरोपी प्रहरी हिरासतमा
रौतहट, १५ भदौ । गत साउन ३ गते रौतहटमा भएको पुजारी हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल रहेका छन्।
प्रहरीका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार भारत बिहारको पूर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट भारतिय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनिहरुलाई पक्रेको हो।
तर, प्रदेश–२ प्रहरी कार्यालयले भने आरोपितहरुलाई पक्राउ गरेको पुष्टि गरिसकेको छैन। माधव नारायण नगरपालिका–३ खेसरहिया टोल स्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा गोली हानी हत्या भएको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर निर्माण गरेका थिए।
मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुबादी संगठनले दवाव दिएका थिए । हत्यामा संलग्न रहेका आरोप लागेका देवाही गोनाही नगरपालिका–१ का वडा अध्यक्ष नुरुलाह मियाँ, सोही ठाउँका राजेन्द्र पटेल, कहिल पटेल र राम प्रवेश पटेल फरार रहेका छन्।
पुजारी हत्या आरोपमा फरार रहेका वडाअध्यक्ष मियाँ द्वन्दकालमा नेपाली सेना र प्रहरीको सुराकको काम गर्थे भने उनि तत्कालिन मधेशी जन अधिकार फोरमबाट स्थनिय चुनावसमेत लडेका थिए।