दशैंमा नयाँ नोट वितरण गर्ने/नगर्नेबारे असोजमा मात्र निर्णय हुने : राष्ट्र बैंक
काठमाडौ, १६ भदौ । नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्नेबारे हालसम्म कुनै निर्णय भइनसकेको जनाएको छ । दशैं आउन अझै केही महिना रहेकाले अझै यो निर्णय नगरिएको बैंकले जनाएको छ।
यसअघि बैंकले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने खबर सञ्चारमाध्यमलाई दिइएको थियो भने सोबारेमा असोजको पहिलो साता आधिकारिक रुपमा सूचना दिने बताइएको थियो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले नयाँ नोट नबाँडिने सूचना गलत भएको दाबी गर्दै नयाँ नोट वितरण गर्ने या नगर्ने भन्ने विषयमा असोजमा मात्र निर्णय हुने बताएका छन्।
नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको छ।