अस्ट्राजेनिकाको कोभिड १९ खोप तेस्रो चरणमा प्रवेश, चाँडो अनुमति दिने तयारी गर्दै अमेरिकी प्रशासन
एजेन्सी, १६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको र सो खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने तयारी गरेको बताएका छन्।
राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा अस्ट्राजेनिकाको खोप तेस्रो चरणमा प्रवेश गरेको घोषणा गर्न पाउँदा आफूलाई खुशी लागेको छ भने अरु पनि खोपहरु अहिले तेस्रो चरणमा प्रवेश गरिसकेका र संयुक्तराज्य अमेरिकामा मानिसले नसोचेको रुपमा कोरोना विरुद्ध काम गरिरहेको बताएका छन्।
उनले आफ्नो प्रशासनले वर्षौं लाग्ने यो प्रक्रियालाई केही महिनाभित्रैमा सफलता हासिल गर्न सकेको दाबी गरेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले तयार पारेको अस्ट्राजेनिकाको खोप संयुक्तराज्य अमेरिकाका ८० स्थानमा करिब ३० हजार वयस्क व्यक्तिलाई लगाउने तयारी गरिएको छ ।
संयुक्तराज्य अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिको उमेरका करिब ३० हजार व्यक्तिलाई तेस्रो चरणको परीक्षणमा समावेश गर्न लागिएको उल्लेख गर्दै अस्ट्राजेनिकाले एक व्यक्तव्य जारी गरेको जनाइएको छ। यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा नयाँ कोरोनाभाइरस संक्रमण हुनसक्ने सम्भाव्य व्यक्तिलाई दिइनेछ।
अस्ट्राजेनिकाले जनवरी २०२१ सम्ममा कोभिड–१९ का लागि प्रभावकारी खोप तयार पार्ने उद्देश्यसहित कार्य गरिरहेको छ । कम्पनीले पहिलो चरणमा करिब ३० करोड सुरक्षित खोप उत्पादन गरी वितरण गर्ने योजना बनाएको छ । अस्ट्राजेनिका अहिले कोभिड–१९ को खोप उत्पादनका लागि अग्र स्थानमा रहेको छ । तेस्रो चरणको खोप परीक्षणका क्रममा रहेका अन्य कम्पनीहरुमा अमेरिकाका मोडर्ना र पिफाइजर रहेका छन्।