अर्घाखाँची प्रशासनले निषेधाज्ञा भदौ २४ गतेसम्म थप गर्यो
अर्घाखाँची, १७ भदौ । अर्घाखाँचीमा भदौ २४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
जिल्ला प्रशासन अर्घाखाँचीले भदौ १७ (आज) राती १२ बजेसम्म सकिन लागेको निषेधाज्ञा अवधी २४ गतेसम्म थप गर्ने निर्णय गरेको छ । प्रशासनका अधिकारीहरूले राय र सुझावका आधारमा निषेधाज्ञा थप गरिएको बताएका छन्।
जिल्ला प्रशासन कार्यालयले मंगलबार आयोजना गरेको भेटघाटमा जिल्लाका राजनीतिक दल र सञ्चारकर्मीहरूले निषेधाज्ञा थप गर्न सुझाव दिएका थिए।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी बिक्रम थापाका अनुसार बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको डिसीसीएमसीको बैठकले भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही र कपिलवस्तुमा दैनिक कोरोना संक्रमित बढिरहेको र अर्घाखाँचीमा पनि समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेपछि नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।