प्रधानमन्त्रीलाई भेट्न एसिड आक्रमणमा परेकी मुस्कान बालुवाटारमा
काठमाडौं, १७ भदौ । एक वर्षअघि एसीड आक्रमणमा परेकी वीरगन्जकी किशोरी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन्। प्रधानमन्त्रीले बोलाएपछि उनले मंगलबार बालुवाटार पुगेर ओलीसँग भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिएका छन्।
प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीले मुस्कानलाई बोलाएर उनको पीडा बुझेको, भेटमा पिडीत खातुनले अभियुक्तहरूलाई छाडिएकोमा गुनासो गरेकी र सोबारे प्रधानमन्त्रीले बुझेर जवाफदिने बताएका छन्।
यस्तै प्रधानमन्त्रीले तेजाब ओसार, पसार, बिक्रीमा कडाइ गर्ने आश्वासन पनि दिएको र त्यस्तै नेपालमा हालसम्म रहेका तेजाबपीडितहरूसँग भेटेर छलफल गर्नुका साथै उनीहरूको सुझावको आधारमा विद्यमान कानुन हेरफेर गर्नेसम्मको आश्वासन दिएको थापाले जानकारी दिएका छन्।
मुस्कान खातुनमाथि २०७६ भदौ २० गते स्कुल जाँदै गर्दा एसिड आक्रमण भएको थियो भने उनको अनुहार छाती र हातमा एसीडले जलेको थियो । एसीड आक्रमण गर्ने अभियुक्त बालक नै भएको भन्दै सुधार गृहमा पठाइएको थियो ।