रसुवागढी भन्सारमा काम गर्ने कामदारमा कोरोना संक्रमण, भन्सार केही दिन बन्द
रसुवा, १८ भदौ । रसुवागढी भन्सार नाकामा सामान लोड गर्ने मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि नाका बन्द भएको छ । बन्दाबन्दीका कारण लामो समय बन्द रहेको नाका केही दिन अघिमात्र सञ्चालनमा आएको भएतापनि कामदारलाई कोरोना पोजेटिभ देखिएपछि नाका बन्द गरिएको रसुवा भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार एक मजदुरमा संक्रमण देखिएपछि अन्य मजदुरको पनि स्वाब लिएर क्वारेन्टिनमा राखिएको र कामदारलाई कसरी संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ।
भन्सारमा कार्यरत सवारी चालक र अन्य कामदारको स्वाब परीक्षण गरेर छिट्टै नै सामान ल्याइने कार्यालयले जनाएको छ । भदौ २५ गतेदेखि दैनिक ८ चिनियाँ कन्टेनर सामान भित्रिने सहमति भए पनि हाल मजदुरमा कोरोना देखिएपछि सबै काम ठप्प भएको छ ।