अब आफ्ना देशका सीमाहरु खोल्न् जि २० भर्चुअल बैठकमा सहभागि विदेशमन्त्रीहरुको आह्वान
एजेन्सी, १९ भदौ । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर आ–आफ्ना देशका सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन्।
बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको भन्दै यसबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले उनीहरुले यो विषयमा जोड दिदैँ आग्रह गरेका छन्।
उक्त बैठकका क्रममा जि २० का विदेशमन्त्रीहरुले देशका सीमाहरु खुला राख्नुपर्ने विषयमा छलफल गर्नुका साथै अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरु अपनाएर सीमा खोल्नुपर्ने बताएका छन्।
सो बैठकमा सहभागी भएका भारतका विदेशमन्त्री एस जयशंकरका अनुसार विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्यका मापदण्डहरु अपनाउनुका साथै स्तरीय परीक्षण विधिका बारेमा पनि छलफल भएको छ।
उनले महामारीपछि जतिसक्दो चाँडो जि २० मा सहभागी देशहरुले आफ्ना देशमा सीमाहरु खोल्नुपर्नेमा सबैको एकमत रहेको बताएका छन्।