डा. युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिए
काठमाण्डौ, १९ भदौ । डा.युवराज खतिवडाले शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका छन्।
अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका खतिवडाले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।
गत फागुनमा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले २०७६ फागुन २१ गते मन्त्रीको रूपमा दोस्रोपटक शपथ लिएका थिए । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा लामो समय मन्त्री बन्न नमिल्ने संवैधानिक व्यवस्था अनुसार खतिवडाले राजीनामा गरेका हुन्।
नेकपा सचिवालयको बिहीवारको बैठकले राष्ट्रिय सभामा रिक्त स्थानमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा खतिवडाले आफूले गरेका कामबारे जानकारी सहित बिदाइ मन्तव्य दिएका थिए।
गोकुल बाँस्कोटाले राजीनामा गरेपछि सरकारको प्रवक्ताको भूमिका निभाएका खतिवडाको राजीनामासँगै अर्थ र सञ्चार मन्त्रालय रिक्त भएको छ।