वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज, २० भदौ । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
पकाहामैनपुर गाउँपालिका–२ पर्साका ७५ वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिएका छन्।
डाक्टर सिंहका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ५ गते अस्थायी कोभिड अस्पताल गन्डकमा भर्ना गरिएको थियो भने उनको फोक्सोको दुवैतर्फ कडा कोभिड निमोनिया देखिएको थियो।
स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अवस्थामा अचानक स्वास फेर्न गाह्रो भएकोे र उपचारको क्रममा मृत्यु भएको डाक्टर सिंहले बताएका छन्।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।