पाकिस्तानमा सरकारी टिभी च्यानलकी २७ वर्षीया महिला पत्रकारको गोली हानी हत्या
एजेन्सी, २१ भदौ । पाकिस्तानमा शनिबार एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । शाहिना शाहिन नाम गरेकी २७ बर्षीय पत्रकारलाई उनकै घरमै गएर गोली हानी हत्या गरिएको थियो।
प्रहरीका अनुसार दुई हमलाकर्ता उनको घर पुगे र ढोका खोल्नेबित्तिकै शाहिनमाथि गोली हानियो । उनीमाथि हत्याराले पाँच गोली हानेका थिए।
एक अज्ञात व्यक्तिले शाहिनलाई कारमा लिएर अस्पताल पुगेको थियो भने सो व्यक्ति त्यसको केही बेरपछि नै गाडी छोडेर फरार भएको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान गरिरहेको छ।
शाहिना शाहिन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा कार्यक्रम प्रस्तोताका साथै संवाददातारुपमा कार्यरत थिइन्। केही दिन अघि मात्रै उनको बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो।
शाहिनका परिवारले केही मानिसहरुविरुद्ध मुद्दा दर्ता गरेका छन् । शाहिनको पाँच महिना अघि मात्रै विवाह भएको थियो।
उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।