जापानी कम्पनीले गर्यो एसडी–३० नामक उड्ने कारको सफल परीक्षण
एजेन्सी, २१ भदौ । जापानमा इतिहासमै पहिलो पटक उड्ने कारको सफल परीक्षण भएको छ। स्काइ ड्राइभ इन्क नामक एक जापानी कम्पनीले उड्ने कारको परीक्षण सफल भएको घोषणा गरेको छ।
दुई साताअघि उक्त कारको सार्वजनिक परीक्षण गरिएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख छ। विश्व प्रसिद्ध टोयोटा कम्पनीको कार परीक्षण स्थलमा स्काइ–कारको परीक्षण गरिएको थियो भने जापानको इतिहासमै पहिलोपटक उड्ने कारको सार्वजनिक परीक्षण गरिएको हो।
एसडी–३० नामको उक्त कारलाई कम्पनीको अनुभवी पाइलटले चार मिनेट जति सफलतापूर्वक उडाएका थिए।
कम्पनीका सिइओ तोमोहिरो फुकुजावाले मानवसहितको कार उडानमा प्राप्त भएको सफलताबाट कम्पनी असाध्यै उत्साहित भएको र यो सुरक्षित‚ सहज र धेरैको पहुँचमा पुगोस् भन्ने चाहेको बताएका छन्। कम्पनीले उक्त कारको व्यवसायीकरण गर्ने लक्ष्य राखेको फुकुजावाले बताएका छन्।
एसडी–३० विश्वकै सानो इलेक्ट्रिक स्काइ–कार भएको र जसलाई दुईटा कार पार्क गर्न चाहिनेजति क्षेत्रबाटै उडाउन र अवतरण गर्न सकिने कम्पनीले बताएको छ।
डिजाइन निर्देशक ताकुमी यामामोतले बताए अनुसार सुरक्षाका लागि कारमा आठवटा मोटर इञ्जिन जडान गरिएका छन् भने यसलाई भविष्यमुखी‚ चमत्कारिक र उपभोक्ताले रुचाउने किसिमको डिजाइन दिन खोजिएको छ।
कम्पनीले उक्त स्काइड्राइभ कार सन् २०२३ सम्ममा बजारमा ल्याउने लक्ष्य राखेको छ। कारको सम्भावित मूल्यबारे भने कम्पनीले केही बताएको छैन।