‘कोरोनाबाट मृत्यु हुनेको मिर्गौला निकालिन्छ’ भनेर अफवाह फैलाउने चिकित्सक प्रहरीको फन्दामा
काठमाण्डौ, २२ भदौ । मृत्यु भएका कोरोना संक्रमितहरुको ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
चिकित्सक सुब्बालाई सोमबार ललितपुरको ढोलाहिटीबाट महानगरीय अपराध महाशाखाबाट खटिएका टोलीले पक्राउ गरेको हो । चिकित्सक लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए।
‘नेपालमा कोरोना नै छैन, नत्र सडकमा बस्नेलाई किन लाग्दैन ?’ भन्दै उनले सो युट्युब च्यानलमा भनेका छन् ‘सरकारमा मगन्तेहरु बसेका छन्, कोरोना भ्रष्टाचार गर्ने बहाना बनेको छ।’
यसैगरी अनुप्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी गरेका छन्। महानगरीय अपराध महाशाखाका अनुसार उनले अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको हो।
मुलुकी अपराधसंहिता ०७४ को दफा ७० मा झुटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ।