नेकपा स्थायी कमिटी बैठक भदौ २६ गतेका लागि तय गरियो
काठमाण्डौ, २२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लामो समयदेखि पटक–पटक स्थगित हुँदै स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार सोमवार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेल सहितको छलफलमा भदौ २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति भएको छ।
गत असार १० गते शुरू भएको बैठक लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ भने पछिल्लो पटक साउन ६ गते केहीबेर बसेर बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो।
पार्टीभित्रको विवाद समाधान गर्न महासचिव पौडेलको नेतृत्वमा गठित कार्यदलको सुझावका आधारमा स्थायी कमिटी बैठकको नयाँ कार्यसूची बनाउने सहमति बिहीवारको सचिवालय बैठकमा भएको थियो।
त्यस्तै असार १० गते शुरू बैठकमा सरकारको कामकारवाही र पार्टीको कामकारवाहीको समीक्षालगायत ७ बुँदे एजेण्डा समावेश गरिएको थियो।
बैठकको बीचमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएपछि नेकपामा विवाद बल्झिएको थियो।