रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनाको कोरोना रिपोर्ट पोजिटिभ
काठमाण्डौ, २२ भदौ । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
महानगरीय प्रहरी परिसर, ललितपुरले आज आएको रिपोर्ट अनुसार १६ जनामध्ये ६ जनामा कोरोना संक्रमण देखिएको हो र उनीहरुलाई ललितपुर परिसरमै राखिएको जानकारी दिएको छ।
प्रहरीले यसअघि १९ जनालाई पक्राउ गरेको भएता पनि त्यसमध्ये ३ जनालाई छोडिसकेको छ।
त्यस्तै ललितपुरका मेयरलाई काट्ने भन्दै धम्की दिने सञ्जय शाक्यलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेको छ।
पक्राउ परेका अभियुक्तहरुमाथि प्रहरीले सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ।