चोरी मुद्दामा थुनामा रहेका व्यक्तिको उपचारका क्रममा मृत्यु
अर्घाखाँची, २२ भदौ । अर्घाखाँचीको जिल्ला कारागार थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ।
कारागारले दिएको जानकारी अनुसार जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो।
यसैगरी मृतक पाण्डेमा मुटुको समस्या थियो भने शनिबार साँझ एक्कासि उनको शरीर सुन्निन थालेपछि उपचारका लागि अर्घाखाँची अस्पतालमा लगिएको थियो।
तर अस्पतालले उनको स्वास्थ्य अवस्था जटिल रहेको भनेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो।
उपचारकै क्रममा पाण्डेको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो।