कास्कीमा पहिरोमा परेर २० बर्षीय युवतीको मृत्यु
पर्वत, २३ भदौ । कास्कीको रुपा गाउँपालिका–६ मा पहिरोमा पुरिएर एक युवतीको मृत्यु भएको छ।
मंगलबार बिहान करिब साढे ४ बजे आएको पहिरोमा परी स्थानिय २० वर्षीया सिर्जना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
स्थानीय काजी विकको घरमाथि रहेको ढिस्कोलाई पहिरोले झारेपछि सोमा परी सिर्जनाको ज्यान गएको हो। घरमा काजीसहित उनका भाइ सन्दीप र सिर्जना सुतेका थिए भने पहिरो आएको थाहा पाएपछि काजी र सन्दीप बाहिर निस्कन सफल भए पनि सिर्जना भने भित्रै परिन्।
खबर पाउनासाथ भीरकोटबाट गएको प्रहरीको उद्धार टोलीले बिहान ६ बजे उनको शव निकालेको थियो।
उनको शवलाई पोस्टमार्टमको लागि पोखरा ल्याइँदै गरेको पनि प्रहरीले बताएको छ।