सन्दीप आबद्ध जमैका फाइनल प्रवेशका लागि ट्रिनबागो नाइट राइडर्ससित भिड्दै
एजेन्सी, २३ भदौ । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) को फाइनल प्रवेशका लागि आज राति ७ः४५ बजे सिपिएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ।
नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने जमैका चौथो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न पुगेको हो।
समूह चरणका सबै खेल जितेको नाइट राइडर्सको मनोबल उच्च रहेको छ भने उसले समूह चरणका दुवै खेलमा जमैकालाई पराजित गरेको थियो।
नाइट राइडर्स आफूलाई उपाधिको प्रमुख दाबेदारका रुपमा प्रस्तुत गरिसकेको छ । यस्तो अवस्थामा जमैकाले फाइनल प्रवेशका लागि यसअघिका खेलहरुमा ब्याटिङमा गरेको गल्ती सुधार गर्नुपर्ने छ अन्यथा उसको उपाधि चुम्ने इच्छा सहजै पूरा हुने देखिँदैन।
यद्यपि विगतमा जस्तै सन्दीप र मुजिबउर रहमानले बलिङमार्फत नाइट राइडर्सको पारी ध्वस्त पारेको खण्डमा सिपिएलको उपाधि नजिक पुग्नबाट जमैका पनि टाढा रहने छैन ।