बलात्कार घटनामा लापरवाही गरेको आरोपमा प्रहरी जवान नै प्रहरीको नियन्त्रणमा
कञ्चनपुर, २४ भदौ । कञ्चनपुरमा एक प्रहरी जवान बलात्कार घटनामा लापरवाही गरेको आरोपमा प्रहरी नियन्त्रण्मा परेको छ। इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ।
उक्त घटनामा मुछिएका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन्।
गत भदौ १४ गतेदेखि बेपत्ता भएकी १६ वर्षीया किशोरी पाँच दिनपछि फेला परेको प्रहरीले जनाएको छ।
प्रवक्ता थापाका अनुसार किशोरीलाई यही भदौ १९ गते फेला पारेर सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो तर पछि जबर्जस्तीकरणमा मुद्दा ल्याएपछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको हो।
किशोरीले आफूलाई पाँच/छ जनाको युवा समूहले बन्धक बनाएर बलात्कार गरेको बताएपछि उनको उजुरीको आधारमा आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउद पक्राउ परेको र अन्यपको खोजी जारी रहेको प्रवक्ता थापाले बताएका छन्।
यसैगरी सामूहिक बलात्कृत भएकी युवतीको मेडिकल जाँचपछि सेफहाउसमा राखिएकोे प्रहरीले जनाएको छ ।