गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दै जगदम्बा स्टिल र मंगला सिमेन्टलाई गुणस्तर विभागको कारबाही
काठमाण्डौ, २६ भदौ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दैे जगदम्बा स्टिल र मंगला सिमेन्टलाई कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले दिएको जानकारी अनुसार जगदम्बा र मंगला दुई उद्योगबाट उत्पादित सामग्रीको नमुना संकलन गरी परीक्षण गर्दा गुणस्तरको मापदण्ड अनुरुप नपाइएपछि कारबाही प्रक्रिया अघि बढाएको हो।
परीक्षण गर्दा दुबै उद्योगको उत्पादन न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको विभागले जनाएको छ ।
विभागले यी दुईवटै उद्योगको उत्पादन गुणस्तर चिन्ह ऐन २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसार नपाइएकाले कानुनअनुसार जगदम्बा स्टिललाई १६ एमएम साइजको छडको इजाजत तत्काल स्थगन गर्ने र करिब ३०० टन उत्पादन विभागको प्रतिनिधिको रोहबरमा स्क्राप गरी विक्री वितरण रोक्का गर्ने निर्णय गरेको छ।
त्यस्तै, मंगला सिमेन्टलाई उल्लेखित व्याचको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गर्न र पिपिसी को बिक्री वितरण बन्द गरी १५ दिनभित्र विभागमा स्पष्टीकरण पेश गर्न भनिएको छ।