उदयपुरमा खुकुरी प्रहार गरी महिलाको हत्या
गाईघाट, २७ भदौ । उदयपुरमा एक जना महिलाको खुकुरी प्रहारबाट ज्यान गएको छ।
जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया डोरकुमारी राउतको सोही ठाउँका २५ वर्षीय ईश्वर मगरले खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका मगरले छिमेकी ५० वर्षीया महिलासँग विवाद भएपछि खुकुरी प्रहार गरेको हो।
खुकुरी प्रहारबाट सख्त घाइते महिलाको उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
खुकुरी प्रहार गरेर जंगलतिर भागेका मगरलाई प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान सुरू गरेको जिप्रकाले जनाएको छ।